उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, २६ फाल्गुन

काठमाडौं, २६ फागुन । निर्वाचन आयोगले फरक लिंग वा समुदायको व्यक्तिलाई मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

आयोगको शुक्रबारको बैठकले राष्ट्रपतिमा खस–आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने ठहर गरेको हो ।

त्यहीअनुसार उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले जारी गरेको विज्ञप्तिमा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ । उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदैछ । निर्वाचन चैत ३ गते हुनेछ ।

प्रतिक्रिया