माओवादीधारको बैठक : फरक समुदायको महिला उपराष्ट्रपति उम्मेदवार बनाउन सुझाव
अखबार टुडे
प्रकाशित:
२०७९, २६ फाल्गुन

काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र)ले उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकमा सहभागी नेताहरूले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने सुझाव दिएका हुन् ।

महासचिव देवप्रसाद गुरुङले भने, ‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रुपले फरक र सामुदायिक फरक भन्ने छ । नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ ।’

उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार विस्तार हुने महासचिव गुरुङको भनाई छ ।

यस्तै, बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका महासचिव गुरुङका अनुसार अन्तर्क्रिरया शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग गर्ने निर्णय भएको छ । अन्तर्क्रिरयामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुनेछन् ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकका नेताहरु नजिकिएका छन् ।

यसअघि २३ फागुनमा बालुवाटारमै बसेको यी पार्टीका नेताहरुको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया