रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेल भारी मतान्तरले विजयी भएका हुन्।

पौडेलले ३३ हजार ८०२ मतभार पाए । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका हुन् ।

निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ । संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदान गरेनन् । यस्तै नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका लागि बाहिर छन् ।

कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । एमालेका लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् । राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

प्रतिक्रिया