विश्वकप लिग-२ : नेपालले पीएनजीलाई ५२ रनले हरायो
अखबार टुडे
प्रकाशित:
२०७९, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्र्तगत जारी अन्तिम शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) लाई ५२ रनले हराएको छ ।

नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७ ओभर १ बलमा २ सय ४५ रन बनाउँदा अलआउट भएको हो । पीएनजीका लागि भानुआले सर्वाधिक ६० रन बनाउँदा उराले ५० रन बनाए । कप्तान असाद भालाले ४२ रन बनाउँदा किपलिन डोरिगाले २६ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भएको थियो ।

नेपालका लागि आसिफ शेखले १ सय १० रन बनाए । उनी एक दिवशीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि कप्तान रोहितकुमार पौडेलले पनि एक दिवशीय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए ।

यस्तै कुशल भुर्तेल ४५, भीम सार्की ४४ तथा कप्तान रोहित पौडेल ३० रन बनाए । बलिङतर्फ सेमो कमियाले ५ र रिले हिकुरेले ३ विकेट लिए । यो जितसँगै नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।

नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ । नेपालले आइतवार यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया