काठमाडौं, २५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन् ।
बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव भएको उनले बताए ।
उनले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम आएको छैन । कांग्रेससँग हामी मिल्न सक्छौँ ।’
बिहीबार निर्वाचित हुने राष्ट्रपतिले देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने र देशको अभिभावकको भूमिका वहन गर्नुपर्ने बताए ।
नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान जारी छ । नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।