ग्रीसमा रेल दुर्घटना प्रकरण : ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा
अखबार टुडे
प्रकाशित:
२०७९, २५ फाल्गुन

काठमाडौं, २४ फागुन (एजेन्सी) । देशको सबैभन्दा खराब रेल दुर्घटनाप्रति आक्रोश व्यक्त गर्दै ग्रीसमा बुधबार ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

गत फेब्रुअरी २८ मा एक मालबाहक रेल र अधिकांश विद्यार्थी सवार यात्रुबाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ५७ जनाको मृत्यु भएको थियो । घटनामा घाइते अन्य १४ जना अस्पतालमा उपचाररत रहेका छन् ।

घटनापछि आक्रोशित आफन्तजन र सर्वसाधारणले घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सामूहिक हडताल गरेका छन् ।

एथेन्सका प्रदर्शनकारीहरूले यो दुर्घटना होइन, यो अपराध हो’ र त्यो रेलमा हामीमध्ये कोही पनि हुन सक्छौं’ लेखिएको साइनबोर्डहरूसहित प्रदर्शनमा सहभागी बनेका छन् । दुर्घटनाको विरोधमा देशभरका ५३ हजार भन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएको प्रहरीले जनाएको छ ।

एथेन्सका प्रदर्शनकारी ५४ वर्षीय सिभिल इञ्जिनियर निकी सिउताले एएफपीसँग भने, ‘म मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्न मात्र होइन, आफ्नो रिस र निराशा व्यक्त गर्न पनि आएको हुँ ।’

एथेन्समा करिब ३० हजार, ग्रीसको दोस्रो सहर थेसालोनिकीमा १५ हजार र पश्चिमी बन्दरगाह शहर पत्रासमा १० हजार प्रदर्शनकारी रहेको ग्रीसका प्रहरी प्रवक्ताले एएफपीलाई बताए ।

प्रतिक्रिया