खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णयसमेत गरेको छ ।

जीवनाशक विषादीको परीक्षणसम्बन्धि प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ १५ गते मन्त्रिपरिषदमा पेश गरेको र भदौ २१ गते मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएको भएपनि त्यसपछि थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

२०७९ मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपश्चात् नयाँ सरकार गठन भएपछि पूरानो मन्त्रिपरिषदका निर्णय स्वतः फिर्ता जाने प्रचलनअनुरूप सो प्रस्ताव पनि फिर्ता गएको थियो । प्रधानमन्त्री प्रचण्डले नयाँ प्रस्ताव तुरून्त ल्याउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुरूप नयाँ प्रस्ताव प्राप्त भएपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले फाइलमाथि थप छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ ।

समितिमा छलफलपश्चात् उक्त प्रस्ताव मन्त्रिपरिषद बैठकमा प्रस्तुत हुने सरकार प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया