अनमोल केसीको ‘छड्के २’ किन ६ दिनमै उत्रियो ?
अखबार टुडे
प्रकाशित:
२०७९, २४ फाल्गुन

काठमाडौं, २४ फागुन । अनमोल केसीको मुख्य भूमिका रहेको ग्याङस्टर फिल्म ‘छड्के २’ क्यूएफएक्ससहितका मल्टिप्लेक्सबाट हटेको छ । दर्शक नै नआएपछि ६ दिनमै हलबाट फिल्म हटेको वितरक सुनिल मानन्धरले जानकारी दिए ।

अनमोलको करिअरमै एक साता नहुँदै फिल्म हलबाट उत्रिएको यो पहिलो हो । वितरक मानन्धरका अनुसार वान सिनेमाज्, बिग मुभिज, आईएनआई लगायत मल्टिप्लेक्सले एक–एक शो उपलब्ध गराएपनि औंलामा गन्न सकिने संख्यामा मात्र दर्शकको उपस्थिति छ ।

अनमोलको फिल्मले निराशाजनक कमाइ गरेपछि हलबाट उतारिएको हो । उनका अनुसार तीन करोड रुपैयाँ बजेटमा निर्माण भएको फिल्मले पाँचदिनमा ३० लाख पनि कमाउन सकेको छैन ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्मले निकै कमजोर समीक्षा प्राप्त गरेको छ । ओपनिङमै फिल्मको अकुपेन्सी पाँच प्रतिशत हाराहारीमा मात्रै थियो ।

फिल्मलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेका छन् भने अनमोलले यो फिल्मबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिएको जनाइएको छ ।

यसैदिन प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ ले भने बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्मले प्रदर्शनको चार दिनसम्म ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ ।

प्रतिक्रिया