प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, बिहीबार तोकियो पेशी
अखबार टुडे
प्रकाशित:
२०७९, २३ फाल्गुन

काठमडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आज(मंगलबार) सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्च पुगेर प्रचण्डविरुद्ध रिट दायर गरेका हुन् । उक्त रिटमाथि बिहीबार पेशी तोकिएको छ ।

अधिवक्ता आरणले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका छन् ।

१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए ।

त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च गएका थिए । यसअघि उनीहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो ।

त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए । गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएपछि माओवादीमा हलचल भएको छ ।

प्रतिक्रिया