मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, २१ फाल्गुन

धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ ।

यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको सुदूरपश्चिम माओवादी संसदीय दललाई केन्द्रको निर्देशनपछि अब सहयोग गर्ने भएको छ ।

माओवादी केन्द्रको संसदीय दलको शनिवार बसेको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने निष्कर्ष निकालेको थियो । सो निर्णयको जानकारीसहित निर्देशन आउने गरी पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्राचार गरिएको थियो ।

पत्रको जवाफमा पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएको सुदूरपश्चिम प्रदेशसभा माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए । नेतृत्व र मन्त्रालय बाँडफाँटको विषय टुङ्गो लगाउन कांग्रेस र माओवादी संसदीय दलको बैठक अहिले बस्दै छ ।

माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने माग राख्दै आएको छ । मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया