सिन्धुलीकी पासाङ याङ्जी बनिन् १५औँ तामाङ सुन्दरी
अखबार टुडे
प्रकाशित:
२०७९, २१ फाल्गुन

काठमाडौं, २१ फागुन । १५औँ ‘मिस तामाङ’को उपाधि सिन्धुलीकी पासाङ याङ्जी वाइबा तामाङले जितेकी छन् । शनिबार कमलादीस्थित राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा आफ्ना १४ प्रतिस्पर्धीलाई पछि पार्दै पासाङ याङ्जीले ‘मिस तामाङ–२०२३’को उपाधि जित्न सफल भएकी हुन् ।

सिन्धुली कमलामाई–९ की उनलाई प्रमुख निर्णायक अभिनेता रमेश उप्रेतीले अवार्ड प्रदान गरे भने २०१७ की फस्ट रनरअपसमेत रहेकी नवाङ मोक्तानले ताज पहिराइदिएकी थिइन् । पासाङले प्रतिस्पर्धामा मिस डिसिप्लेनको टाइटलसमेत हात पारेकी छन् ।

यस्तै, प्रतियोगितामा फस्ट रनरअपको उपाधि सुशीला मार्फा तामाङ र सेकेन्ड रनरअप सिर्जना गोले तामाङ भएका छन् । सिर्जनाले मिस मल्टिमिडिया टाइटलसमेत हात पारेकी छन् ।

प्रतियोगितामा बिनिता लुङ्बाले मिस अनलाइन भोटिङ, पूजा दोङले मिस ट्यालेन्ट, मेलिना योञ्जनले बेस्ट ड्रेस, सिया घिसिङले मिस पपुलर र मिस पर्सनालिटी, प्रनिशा तामाङले मिस ब्युटिफूल हेयर र सबिना तामाङ मिस फोटोजेनिक भए ।

नयाँ पुस्तामा तामाङ संस्कृति, भाषा तथा भेषभूषा र संस्कृति हस्तान्तरणमा ‘मिस तामाङ’ले मद्दत प्रदान गर्ने आयोजक संस्था मम्स इन्टरनेसनल नेपालका निर्देशक रञ्जिता लामाले बताइन् ।

प्रतिक्रिया