सुदूरपश्चिम : मुख्यमन्त्री शाहलाई मत नदिने माओवादी निर्णय, उन्मुक्तिले लिखित सम्झौता गरेरमात्र मत दिने
अखबार टुडे
प्रकाशित:
२०७९, २० फाल्गुन

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।

संसदीय दलका नेता खगराज भट्टका अनुसार माओवादीले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो । उनले भने, ‘मुख्यमन्त्रीलगायत सबै कुरामा प्याकेजमा सहमति र त्यसको लिखित डकुमेन्ट नबनाइकन यथास्थितिमा विश्वासको मत नदिने भन्ने हो ।’

यसअघि यहाँ मुख्यमन्त्रीमा माओवादीले दाबी गरेको थियो । तर, यो विषयमा कुरा नमिलेका कारण माओवादीले विश्वासको मत नदिने भट्ट बताए ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री शाहले विश्वासको मत लिनेबारे सर्वदलीय बैठक बसेर आइतबार नै प्रदेश सभाको बैठक तय हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि लिखित सहमति नभइकन मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएको छ । उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन नसकिने बताएकी हुन् ।

यसअघि सुदूरपश्चिमा एमालेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया