बाहिर जिल्लाबाट आएकाले काठमाण्डौं उपत्यकामा यी ५ ठाउँबाट बनाउन सक्नेछन् राष्ट्रिय परिचयपत्र
अखबार टुडे
प्रकाशित:
२०७९, १८ फाल्गुन

काठमाडौं, १८ फागुन । बाहिरका जिल्लाबाट आई काठमाण्डौं उपत्यकामा बसोवास गरेका नागरिकहरूले विभिन्न पाँच ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना निकालेर उपत्यकामा रहेका देशका विभिन्न जिल्लाका बासिन्दाले काठमाण्डौबाटै राष्ट्रिय परिचयपत्र बनाउनका लागि ठाउँ तोकेको जानकारी गराएको हो ।

विभागको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट बाग्मती प्रदेशका ललितपुर र भक्तपुरबाहेकका सबै जिल्ला र मधेस प्रदेशका पर्सा र धुनषाका बासिन्दाले परिचयपत्र बनाउन सक्नेछन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लासँगै मधेस प्रदेशका सप्तरी र सर्लाहीका बासिन्दाले परिचयपत्र बनाउन पाउनेछन् ।

कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्लासँगै मधेस प्रदेशका सिरहा, महोत्तरी, बारा र रौतहटका बासिन्दाले नारायणहिटी दरबार परिसरबाट परिचयपत्र बनाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

यस्तै नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्वकर्मचारी तथा विशिष्ट पदाधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र बनाउन पाउनेछन् । राष्ट्रिय सभा गृहबाट सरकारी कर्मचारीका परिवारले राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरिएको विभागको सूचनामा उल्लेख छ ।

राष्ट्रिय परिचयत्रप बनाउन जाँदा नागरिकताको प्रमाणपत्रपको सक्कल, बसाइँ सरी आएकाको हकमा बसाइँसराइ प्रमाणपत्रको सक्कल, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल, कर्मचारी भए कार्यालयको सिफारिस र पूर्वकर्मचारी भए पेन्सनपट्टा तथा कर्मचारीका परिवारका लागि कर्मचारीको परिचयपत्रको प्रतिलिपी लैजान विभागले जानकारी गराएको छ ।

यस्तै देशभरका सबै जिल्ला प्रशासन कार्यालय र ४२ वटै इलाका प्रशासन कार्यालयबाट पनि राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेको विभागका महानिर्देशक रुद्रप्रसाद पण्डिले जानकारी दिए ।

प्रतिक्रिया