पैसा हिनामिना गरेको भन्दै शाहरुखकी श्रीमती गौरीविरुद्ध प्रहरीमा उजुरी
अखबार टुडे
प्रकाशित:
२०७९, १८ फाल्गुन

काठमाडौं, १८ फागुन (एजेन्सी) । भारतीय चर्चित अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता भएको छ । पैसा हिनामिना गरेको आरोप लगाउँदै एक व्यक्तिले गौरीसहित ३ जनाविरुद्ध लखनऊ प्रहरी चौकीमा उजुरी दिएका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । गौरी ब्रान्ड एम्बेसडर रहेको कम्पनी तुल्स्यानी कन्स्ट्रक्सन एण्ड डेभलपर्स लिमिटेड ले ८६ लाख भारतीय रुपैयाँ लिएर पनि अहिलेसम्म फ्ल्याट नदिएको मुम्बईका जसवन्त शाह नामका व्यक्तिले आरोप लगाएका छन् ।

यो फ्ल्याट तुल्स्यानी गोल्ड भ्यू, सुशान्त गल्फ सिटी, लखनउमा अवस्थित छ । जसवन्तले उजुरीमा आफूसँग पैसा लिए पनि गौरीले यो फ्ल्याट अरु कसैलाई दिएको दावी गरेका छन् ।

उनले गौरी खान बाहेक तुलस्यानी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुलस्यानी र निर्देशक महेश तुलस्यानीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । ब्राण्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर जसवंतले उक्त फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।

गौरीको ‘गौरी खान डिजाइन्स’ नामक आफ्नै कम्पनी छ । उनी उत्कृष्ट इन्टेरियर डिजाइनर हुन्, उनले धेरै प्रसिद्ध सेलिब्रेटीहरूको घर डिजाइन गरेकी छन् ।

उनी यस ब्रान्डकी एम्बेसडर मात्र हुन् । त्यसैले उनको नाममा पनि उजुरी दर्ता गरिएको छ । यद्यपी गौरीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया