राप्रपाले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन
अखबार टुडे
प्रकाशित:
२०७९, १८ फाल्गुन

सुर्खेत, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपाले नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बिहीबार प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाकी प्रदेश सांसद सन्तोषी शाहीले समर्थन फिर्ताको पत्र बुझाएकी छन् । राजनीतिमा आएको अस्थिरताले जनताको अपेक्षाअनुसार काम गर्न नसक्ने र पार्टी केन्द्रको निणर्यलाई स्वीकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको शाहीको भनाइ छ ।

कर्णाली प्रदेशमा एक सिट मात्रै रहेको राप्रपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । यद्यपि शर्मा अल्पमतमा भने परेका छैनन् ।

हाल शर्मालाई एमाले, एकीकृत समाजवादी र एक स्वतन्त्रको समर्थन छ । केन्द्र सरकारबाट बाहिरिएको एमालेले अझै पनि प्रदेश सरकारबारे कुनै निर्णय लिइसकेको छैन ।

प्रतिक्रिया