प्रदेश १ को नाम अब ‘कोशी प्रदेश’
अखबार टुडे
प्रकाशित:
२०७९, १७ फाल्गुन

बिराटनगर, १७ फागुन । प्रदेश १ को नाम टुंगो लागेको छ । बुधबार बसेको प्रदेशसभ बैठकले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम ‘कोशी प्रदेश’ पारित गरेको हो । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम पाएको हो ।

‘कोशी प्रदेश’को पक्षमा ८२ मत खस्यो भने विपक्षमा ४ मत खसेको छ । मतदान प्रक्रियामा ६ जना अनुपस्थित थिए ।
प्रदेशको नाम ‘कोशी प्रदेश’ हुनुपर्ने नेकपा एमालेले संसद सचिवालयमा बुधबार बिहान दर्ता गरेको थियो । उक्त प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका थिए ।

दुईवटा संविधानसभा र एउटा प्रदेशसभाले पार लगाउन नसकेको प्रदेश १ को नामको टुंगो प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै लगाएको हो ।

यस्तै नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने पहिचान र सामथ्र्यको आधारमा ‘किरात लिम्बुवान सगरमाथा’ नाम हुनुपर्ने प्रस्ताव दर्ता गरेको थियो । उक्त प्रस्ताव नै प्रदेशसभाले पारित नगरेपछि मत विभाजनको प्रक्रियामा गएन । प्रदेशसभामा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

प्रतिक्रिया