पहिचान पक्षधर कमजोर भयौं : इन्द्रबहादुर आङ्बो
अखबार टुडे
प्रकाशित:
२०७९, १७ फाल्गुन


विराटनगर, १७ फागुन । नेकपा माओवादी केन्द्रले पहिचान पक्षधरको उपस्थिति कमजोर भएको बताएका छन् । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले यसपटक प्रदेशसभामा पहिचानको पक्षधरको उपस्थिति कमजोर भएको उनले बताए ।

बुधबार प्रदेशसभा बैठकमा बोल्दै नेता आङ्बोले पहिचानको आधारमा प्रदेशको नामकरण गर्न आफूूहरु बाधक नबनेको स्पष्टिकरण दिए । उनले भने, ‘हाम्रो पार्टी पहिचानको आधारमा नाम राख्नुपर्छ भन्ने पक्षमा छ । तर अहिले हामीले चाहेर पनि पहिचानको पक्षमा उभिन सकेनौं । संसदीय गणित हाम्रो अनुकुल रहेन । पहिचानको मुद्दा स्थापित गर्न सकेनौं ।’

नेकपा एमालेले प्रदेशको नाम कोशी राख्न बुधबार नै प्रदेशसभामा प्रस्ताव पेश गरेको छ । कांग्रेस र माओवादी केन्द्रले पनि उक्त नाममा समर्थन जनाएका छन् । आङ्बोले पाँच वर्षसम्म पहिचान र भूगोल के का आधारमा नाम राख्ने भन्ने विवाद हुँदा प्रदेशको नामकरण नै हुन नसकेको स्मरण गरे ।

उनले प्रदेशका जनताले दुई तिहाइ मत दिए प्रदेशको नाम फेर्न सकिने बताए । प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने पक्षमा आफ्नो पार्टी भएपनि अहिले राजनीतिक निकास दिने हिसाबले अगाडि बढेको आङ्बोको भनाइ छ ।

प्रतिक्रिया