एम्बाप्पे र बेन्जिमालाई पछि पार्दै मेस्सी बने फिफा वर्ष खेलाडी
अखबार टुडे
प्रकाशित:
२०७९, १६ फाल्गुन

काठमाडौं, १६ फागुन (एजेन्सी) । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड जितेका छन् । उत्कृष्ट तीनमा परेका फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै ३५ वर्षिय मेस्सीले अवार्ड हात पारेका हुन् ।

अवार्ड विजेता मेसीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए । यस्तै सन् २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलबाट २७ गोल गरेका थिए ।

फिफाका सदस्य राष्ट्र, प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता छनोट गरिएको फिफाले जनाएको छ । सन् २०२१ अगस्ट ७ देखि २०२२ जुलाई २७ सम्मका खेलमा गरेको प्रदर्शनलाई आधार मानिएको छ ।

अवार्ड पाएपछि मेस्सीले आफ्ना लागि यो एक ठूलो वर्ष भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘मेरा लागि यो एक ठूलो वर्ष हो । यहाँ आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो। यसको श्रेय म मेरा साथीहरूलाई दिन चाहन्छु, उनीहरू बिना म यहाँ हुने थिइनँ ।’

सन् २०१६ बाट सुरु भएको अवार्डमा मेसीसहित क्रिष्टियानो रोनाल्डो र रोर्बेटो लेवान्डोस्कीले २–२ पटक उपाधि जितेका छन् । यस्तै लुका मोड्रिचले १ पटक उपाधि जितेका छन् ।

गए राति पेरिसमा भएको समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको उत्कृष्ट पुरूष प्रशिक्षक घोषित भए ।

यस्तै बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् ।

यस्तै, अर्जेन्टिनाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले अवार्ड जितिन् । पोल्याण्डका मार्सिन ओलेक्सीले वर्षको उत्कृष्ट गोलको लागि फिफा पुस्कास अवार्ड जितेका छन् । फेयर प्ले अवार्ड लुका लोचोसभिलीले पाएका छन् ।

विजेताहरूको सूची
उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेसी
उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास
उत्कृष्ट पुरुष गोलकिपरः एमिलियानो मार्टिनेज
उत्कृष्ट महिला गोलकिपरः मेरी अरप्स
सर्वश्रेष्ठ पुस्कास अवार्डः मार्सिन ओलेक्सी
उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान
उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभिली
उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी
उत्कृष्ट महिला प्रशिक्षकः सरिना विग्म्यान

प्रतिक्रिया