काठमाडौं, १५ फागुन । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । आज बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि एमाले मन्त्रीहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर राजीनामापत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आठ जना सहभागी थिए । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए ।
यस्तै, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।