शिल्पाले जितिन् छविविरुद्धको मुद्दा, सम्पत्ति र ऋण आधा
अखबार टुडे
प्रकाशित:
२०७९, १५ फाल्गुन

काठमाडौं, १५ फागनु । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच औपचारिक रुपमा सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दामा सुनुवाइ गर्दै आइतबार अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो ।

न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले दिएको आदेश अनुसार अब छविको आधा सम्पत्ति भागबण्डासहित सम्बन्धविच्छेद हुनेछ भने अंशबण्डा नहुन्जेलसम्म छविले शिल्पालाई मासिक रुपमा मानाचामल भर्नुपर्नेछ । सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने अदालतको फैसला छ ।

रेखा थापासँग डिभोर्सपछि छविले चौथो श्रीमतीका रूपमा शिल्पालाई भित्र्याएका थिए । तर, उनीहरूको वैवाहिक जीवन लामो समय टिकेन । अन्ततः शिल्पाले २०७६ सालमा ओझाविरुद्ध सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा अदालतले हिजो फैसला सुनाएको हो ।

छविको दोस्रो श्रीमती स्व. गिताञ्जली सुनुवारको तर्फबाट एक छोरा छन् । गिताञ्जलीको मृत्युपछि छविले आफ्नो श्रीमती जेठीसासु (गीताञ्जलीकी दिदी) को जिम्मा लगाएका थिए । त्यसबेला छविले आफ्नो छोरालाई धर्मपुत्रका रूपमा पाल्न जेठीसासुसँग लिखित सम्झौता गरेका थिए ।

शिल्पाले सम्पत्तिको मुद्दा हालेपछि छविकी जेठी सासुले धर्मपुत्र फिर्ता गर्नका लागि अदालतका मुद्दा हालेकी थिइन् । छविकै आग्रहमा उनले सो मुद्दा हालेकी हुन्, ताकि आफ्नो छोराका नाममा पनि एक तिहाइ सम्पत्ति उनले राख्न सकुन् ।

यदि धर्मपुत्र छविले फिर्ता पाउने अदालतले फैसला गरेको भए सम्पत्ति तीन भाग लाग्ने थियो । तर, अदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसला गरेको छ ।

छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ । छविले आफ्नो ऋण २० करोडभन्दा माथि देखाएको बुझिन्छ । छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउने छिन् ।

यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ । जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन ।

शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन् । तर, छवि भने उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया