ठ्याक्कै एक वर्षमा रिहा भए अभिनेता पल शाह, कारागार बाहिर फ्यानहरुको भीड
अखबार टुडे
प्रकाशित:
२०७९, १५ फाल्गुन

काठमाडौं, १५ फागुन । काठमाडौं । नाबालिग बलात्कारको आरोप लगेका अभिनेता पल शाह ठ्याक्कै एक वर्षमा तनहुँ कारागारबाट रिहा भएका छन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका शाह आज(सोमबार) छुटेका हुन् ।

शाहमाथि सुटिङका क्रममा आफूमाथि बलात्कार गरेको भन्दै एक १७ वर्षीया नाबालिकले २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएकी थिइन् । शाहले फागुन १५ गते आत्मसमर्पण गरेका थिए । ति बालिकाले नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सुरुमा बलात्कार भनी जाहेरी दिए पनि पछि बकपत्र गर्दा भने ती नाबालिगले बयान फेरेर बलात्कार नभएको बताएकी थिइन्। सोही मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा र नवलपुर प्रहरीले नवलपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

तीमध्ये तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिँदा नवलपुरले भने कैद र जरिवाना र क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । तर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।

उनलाई स्वागत गर्न तनहुँ कारागार बाहिर फ्यानहरुको ठुलो भीड लागेको थियो । उनीहरुले ‘पल शाह हाई हाई’ भन्दै नाराबाजीसमेत गरेका छन् । पल शाह आजै काठमाडौं आउने बुझिएको छ ।

प्रतिक्रिया