बसन्तपुरमा चीर ठड्याउँदै होलीको सुभारम्भ
अखबार टुडे
प्रकाशित:
२०७९, १५ फाल्गुन

काठमाडौं, १५ फागुन । काठमाडौंको वसन्तपुर अगाडि हनुमानढोका दरबारमा तीन तले चीर ठड्याउँदै होलीको सुभारम्भ गरिएको छ ।

वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आज बिहान ७ः४५ को शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो ।

चीर ठड्याएसँगै राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । चन्द्र मास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन २२ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा र २३ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ ।

रंगहरुको पर्वको रुपमा चिनिने होली आपसमा मैत्री एवम् सद्भावपूर्वक अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए ।

तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन्। आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

प्रतिक्रिया