नक्सालस्थित हिमाल अस्पतालमा पीडित पक्षको धर्ना, आकस्मिकबाहेक सबै सेवा प्रभावित
अखबार टुडे
प्रकाशित:
२०७९, १४ फाल्गुन

काठमाडौं, १४ फागुन । काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ ।
बालिका प्रशंसा गौतमको न्याय माग्दै पीडित पक्षले बुधबार अस्पतालको गेटमै चर्का नाराबाजीसहित धर्ना दिएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको हो ।

मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग मंगलबार पत्रकार सम्मेलन गरी उचित क्षतिपूर्तिको माग गरेका थिए ।

बुधबार पीडित पक्षले सो अस्पताल व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गर्दै धर्ना दिइरहेका छन् । उनीहरुले चिकित्सक यादवमाथि छानबिन गरी कडा कारबाही गर्न पनि माग गरिरहेका छन् । उनीहरूले ‘मान्छे मार्न पाइँदैन, ज्यानमारा चिकित्सक चाहिँदैन’ भन्नेजस्ता चर्का नाराबाजी लगाउँदै सो अस्पतालको मुख्यगेटमा समेत ताला लगाएका छन् ।

पीडित पक्षले अस्पताल व्यवस्थापनले तत्काल आफूहरूको माग सम्बोधन नगरे अस्पतालमा तोडफोडसमेत गर्न बाध्य हुने चेतावनी दिएका छन् । गत माघ २३ गते सामान्य रुघाखोकी र ज्वरो आएकी बालिका प्रशंसालाई उनका बुबा गंगा गौतमले उपचारका लागि सो अस्पताल पु¥याएका थिए ।

तर, सो अस्पतालमा कार्यरत चिकित्सक यादवले कुनै परीक्षण नगराई औषधि दिएको र बिरामी शिथिल भएपछि कान्ति बाल अस्पतालमा रिफर गर्दा पनि सो लेटरमा चिकित्सकको हस्ताक्षरसमेत नगरेर लापरबाही गरेकाले उनको ज्यान गएको पीडित पक्षको आरोप छ ।

पीडित गौतमले चिकित्सक यादवको लाइसेन्स खारेज गर्न र आफूहरूलाई उचित क्षतिपूर्ति दिलाउन माग गर्दै गत फागुन ८ गते नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएको जनाएको छ ।

प्रतिक्रिया