जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौं : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, १४ फाल्गुन

काठमाडौं, १४ फागनु । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहीदहरूको उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।

आइतबार बिहान जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तर्क्रिरयामा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘आज जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्ध लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरिरहेको छ ।’

सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताए ।
उनले भने, ‘संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरुपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुंगोमा पुग्छ । जनयुद्धका शहीदहरूको सम्मान, उनीहरूको परिवारका लागि परिपूरण, सन्ततिहरूको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।’

प्रतिक्रिया