मकवानपुर, १३ फागुन । वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले शनिबार राति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पत्र बुझाएका छन् ।
राप्रपाको संसदीय दलका नेता एवं प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री उद्धव थापाले दिउँसो राजीनामाको तयारी भइरहेको जानकारी गराएका थिए ।
राप्रपाबाट प्रदेश सरकारमा संसदीय दलका नेता थापासँगै पर्यटन उद्योग तथा शहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्ट सहभागी थिए ।
सत्ता गठबन्धनको नयाँ समिकरण बनेसँगै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । राष्ट्रपति निर्वाचनमा सत्ता गठक नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न नमानेपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससहित आठ दलीय गठबन्धन बनाएपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णण गरेको हो ।
यसक्रममा केन्द्रीय सरकारमा रहेका राप्रपाका मन्त्रीहरु शनिबार नै राजीनामा बुझाइसकेका छन् । उनीहरुको राजीनामा स्वीकृत प्रधानमन्त्री प्रचण्डले बताउँदै नयाँ मन्त्रिमण्डल गठन हुने समेत बताइसकेका छन् ।