काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भावी राष्ट्रपति बन्ने निश्चित जस्तै भएको छ ।
शुक्रबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति भएसँगै पौडेल राष्ट्रपति बन्ने सम्भावना बढेको हो ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलको समर्थन पाउने भएको हो ।
शुक्रबार साँझ बालुवाटारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राखेका थिए ।
पछिल्लो समय राष्ट्रपति आफूले पाउनुपर्ने कांग्रेसको दाबी गर्दै आएको थियो । राष्ट्रपतिमा दाबी गर्दै आएको एकीकृत समाजवादीका साथै जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समेत प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई समर्थन गरेका छन् ।
राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति भएपनि कांग्रेसले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन । तर, बैठकमा सहभागी माओवादीका एक नेताका अनुसार कांग्रेसले पौडेललाई राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्तुत गर्दैछ । दलहरुबीच पनि पौडेलको नाममा सहमित भइसकेको छ ।
एमाले सरकारबाट बाहिरिँदै
यसैबीच एमाले वर्तमान सत्ता गठबन्धनबाट बाहिरिने भएको छ । राष्ट्रपति पद आफूले नपाउने भएसँगै एमाले सरकारबाट बाहिरिने भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो कुरा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका जानकारी गराइसकेको स्रोतको भनाइ छ।
शुक्रबार दिउँसो दुई नेताबीच भएको छलफलमा सहमति नजुटेसँगै ओलीले सरकारबाट एमाले बाहिरिने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री प्रचण्डले बैठकमा दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आफ्नो पाटीले पूर्व सहमतिअनुसार राष्ट्रपति पद नपाए भोलि नै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । ‘सम्भवतः भोलि नै एमाले सरकारबाट बाहिरिन्छ होला,’ लोसपाका नेता राजेन्द्र महतोले बताएका छन् ।
यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि शुक्रबार साँझ माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने ठुलो चिन्ता रहेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे शनिबारको बैठकले निर्णय गर्ने बताए ।
उनले भनेका छन्, ‘अब कसरी अघि बढ्ने के गर्ने ? सरकारमा रहने वा बस्ने भन्ने विषयमा शनिबारको बैठकले निर्णय गर्छ ।’