अक्षयले तीन मिनेटमा १८४ सेल्फी खिचेर राखे वर्ल्ड रेकर्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ११ फाल्गुन

काठमाडौं, ११ फागुन (एजेन्सी) । भारतीय अभिनेता अक्षय कुमारले सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका छन् । अक्षयले बुधबार मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’को प्रमोशनको एक कार्यक्रममा तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वल्र्ड रेकर्ड तोडेका हुन् ।

यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा केही तस्बिर र भिडियो सार्वजनिक गरेका छन् । कार्यक्रममा अक्षय ओरेन्ज जम्प सूटमा देखिएका थिए । यस क्रममा उनले स्टेजमा १८४ सेल्फी खिचे ।

सोही तस्बिर सार्वजनिक गर्दै अक्षयले लेखेका छन्, ‘मैले आजसम्म जे पनि हासिल गरेको छु र जीवनमा जहाँ छु, त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण हो । मेरा फ्यानहरूको सहयोगमा हामीले ३ मिनेटमा धेरै सेल्फी खिचेर गिनिज वर्ल्ड रेकर्ड राखेका छौं । यो धेरै विशेष थियो र म यो सधैं सम्झनेछु ।’

यसअघि यो कीर्तिमान अमेरिकाका जेम्स स्मिथको नाममा थियो । उनले २०१८ जनवरीमा कार्निभल ड्रिम क्रुज जहाजमा ३ मिनेटमा १६८ सेल्फी खिचेका थिए ।

रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज प्रमाणपत्र पनि प्रदान गरिएको छ । उनको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी’ पनि शुक्रबार विश्वव्यापी प्रदर्शन हुँदैछ । राज मेहता निर्देशित यो फिल्ममा उनले पहिलोपटक इमरान हासमीसँग स्क्रिन सेयर गरेका छन् ।

प्रतिक्रिया