हामी भोटर मात्र होइनौँ, जसले उपराष्ट्रपति दिन्छ त्यतैतिर जान्छौँ : उपेन्द्र यादव
अखबार टुडे
प्रकाशित:
२०७९, ११ फाल्गुन

काठमाडौं, ११ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पुरानो गठबन्धन ब्युँताउने भने हो आफूहरूको ‘बटमलाइन’ उपराष्ट्रपति भएको बताएका छन् ।

बिहीबार दिउँसो सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले जसपाले उपराष्ट्रपतिमा दाबी गर्नुका स्वाभाविक दुई कारण रहेको समेत बताए ।

उनले भने, ‘हामीलाई उपराष्ट्रपति चाहिन्छ । उपराष्ट्रपति नदिने हो भने हामी गठबन्धनलाई सहयोग गर्न सक्दैनौं ।’
जसपाले सधैं अरूलाई मात्र भोट हाल्न नसक्ने बताउँदै भने, ‘हामी भोटर मात्र होइनौँ, जतातिरको गठबन्धनमा भोट हाल्ने भएपनि हामीलाई उपराष्ट्रपति चाहिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख त हामीले पाएनौं, उपराष्ट्रपतिमा त एक जना मधेसी हुनुपर्छ । त्यसो नहुने हो भने हामी कसैलाई सहयोग गर्न सक्दैनौं ।’

पुरानो गठबन्धन ब्युँताएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउँदा आफूहरूलाई कुनै समस्या नभएको समेत अध्यक्ष यादवले बताए ।

‘कांग्रेस र माओवादीले गठबन्धन गर्ने हो भने हामी र एकीकृत समाजवादी निर्णायक हुन्छौं’ उनले भने, ‘हामीलाई भूमिका नदिए किन सहयोग गर्ने रु माधव नेपालको राष्ट्रपतिमा दाबी गर्नु स्वाभाविक हो । कि उहाँलाई एक वर्ष प्रधानमन्त्री बनाउने सहमति गर्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिलेसम्म सम्बन्धविच्छेद भइनसकेकाले उनीहरु जतिखेर पनि मिल्न सक्ने यादवको भनाइ छ । प्रचण्ड र ओलीबीच झगडा मात्र परेको बताउँदै उनले भने, ‘अन्तिमसम्म मिल्न पनि सक्छन् ।’

प्रतिक्रिया