क्रिकेट टोलीलाई जनही २ लाख दिने प्रधानमन्त्रीको घोषणा, युएई भ्रमणमा परेनन् सन्दीप
अखबार टुडे
प्रकाशित:
२०७९, ११ फाल्गुन

काठमाडौं, ११ फागनु । सरकारले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेको नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहनस्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त पुरस्कार घोषणा गरेका हुन् ।

खेलाडीहरुसँग प्रधानमन्त्री प्रचण्डले भने, ‘यस पटक सबै खेल जितेर तपाईहरुले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भुमिका खेल्नुभएको छ । हामी नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु ।’

त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपाल पहिलो पटक क्लिन स्विप गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि युएई जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आज युएई भ्रमणमा जाने टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ ।

टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । उनको स्थानमा प्रतिश जी.सीलाई समावेश गरिएको छ । सन्दीपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०सँग सिफारिस मागे पनि अस्वीकार गरिएको थियो ।

नेपाली टोलीले युएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो युएई भ्रमणको शुरुवात गर्नेछ । मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ। मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले युएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली युएईसँग खेल्नेछ ।

प्रतिक्रिया