काठमाडौं, ११ फागनुन । नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन भएको छ । उनको ६९ वर्षको उमेरमा ललितपुरको पुल्चोकस्थित निवासमा निधन भएको हो ।
नेपाली, हिन्दी र अंग्रेजी संगीतका ज्ञाता समेत रहेका खड्काले विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए । गायक ओमविक्रम विष्ट, अरुण थापा र दिव्य खालिङसँग उनले सहकार्य गरेका थिए ।
केही अंग्रेजी गीतको रेकर्ड गराएपनि उनले एल्बम भने सार्वजनिक गर्न पाएनन् । मुलुकको पुरानो सांगीतिक ब्याण्ड मानिने फ्रिडमसँग पनि उनले सहकार्य गरेका थिए ।
पछिल्लो समय उनी संगीतसम्बन्धी पुस्तक लेखनको तयारीमा थिए । उनी क्लासिक एफएमका निर्देशक समेत थिए । सोही एफएममा उनले कार्यक्रम पनि चलाउँदै आएका थिए ।
सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्काको वास्तविक नाम मुकुन्दकुमार भएपनि उनको स्टेज नाम माइक खड्का हो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । खड्काकी श्रीमती र एक छोरा छन् ।