पोखरा विमानस्थलमा आजदेखी रात्रिकालीन सेवा, ४ सहरमा उडान भर्ने बुद्ध एयरको तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, ११ फाल्गुन

काठमाडौं, ११ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखी रात्रिकालीन उडान हुने भएको छ । विमानस्थलमा रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली आजदेखि लागू भएको विमानस्थलले जनाएको हो ।

बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थलले जानकारी दिएको छ । विमानस्थल प्रमुख विक्रम गौतमका अनुसार मंगलबार र बुधबार आइएफआर प्रणालीको परीक्षण गरिएको थियो ।

अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सेवा दिने भएको छ । अहिले दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो । विमानस्थल सबै उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआइपी) प्रकाशित गरेको थियो ।

सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने उनले बताए । सूचना प्रकाशन भएको आज ४२ दिन पुगेको छ । आजदेखि रात्रिकालीन उडानका लागि तयार भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै अन्योल छ ।

यसैबीच बुद्ध एयरले फागुन २५ गतेदेखि व्यवसायिक रात्रिकालीन उडान भर्ने भएको छ । एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले रात्रिकालीन उडानका लागि ४ वटा जहाज पोखरामा रहने जानकारी दिए ।

उनका अनुसार बुद्धले पोखराबाट उडान गरिरहेको सहरमा रातिको समयमा उडान गर्ने तयारी छ । बुद्धले काठमाडौंसहित नेपालगञ्ज, भैरहवा र भरतपुरमा पोखराबाट उडान गरिरहेको छ ।

प्रतिक्रिया