गायक तथा संगीतकार राजशुक्र लिम्बू मोटरसाइकल दुर्घटनामा घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, १० फाल्गुन

काठमाडौं, १० फागुन । गायक तथा संगीतकार राजशुक्र लिम्बू मोटरसाइकल दुर्घटनामा परेका छन् । काठमाडौंदेखि धरान गइरहेको अवस्थामा विपी राजमार्गअन्तर्गत सिन्धुलीगडी ओरालोमा राजशुक्र लिम्बू सवार बा ८७ प २९५७ पल्सर मोटरसाइकल दुर्घटनामा परेको हो ।

मोटरसाइकल राजशुक्र लिम्बूले नै चलाएका थिए । मोटरसाइकलमा राजशुक्रसँगै कृष्ण लिम्बू सवार थिए । दुर्घटना गम्भीर भएपनि सामान्य चोटपटक लागेको गायक राजशुक्रले बताए । दुर्घटनालगतै नजिकको स्वास्थ्य केन्द्रमा उपचारपछि अहिले सामान्य अवस्था रहेको उनले बताए । दुवै जनाको हात र खट्टामा चोट लागेको छ ।

सिमसिम पानी परिरहेको र सडक चिप्लो भएको अवस्थामा अपोजिट साइटबाट आइरहेको कारलाई जोगाउन खोज्दा मोटरसाइकल अनिन्त्रित भई १५÷२० मिटरसम्म धर्सिएर दुर्घटना भएको राजशुक्रले बताए । उनले भने, ‘दुर्घटना ओरालो सडकमा भएको थियो । भाग्यले ज्यान जोगियो ।’ अहिले उपचारपछि सिन्धुलीमै आराम गरिरहेको उनले बताए ।

नेपाली गीतसंगीतमा स्थापित गायक तथा संगीतकार राजशुक्र पछिल्लो समय काठमाडौंमा भन्दा पूर्वमा बढी बस्दै आएका छन् । उनी केही दिनअघि मात्र काम सिलसिलामा काठमाडौं आएका थिए ।

प्रतिक्रिया