उमेर विवादमा तानिएका डीआईजी अशोक सिंहले दिए राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, १० फाल्गुन

काठमाडौं, १० फागुन । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि विवादमा तानिएका थिए । उनले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा दिएका हुन् ।

उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध गएको गत बुधबार बागबजारका विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । सिंहको सिटरोल र नागरिकतामा रहेको जन्ममिति खोजबिन गर्दा उमेर फरक–फरक भेटिएको हो ।

२०४२ जेठ २२ गते जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता जारी भएको बेला सिंह १८ वर्ष उमेर पूरा भएको उल्लेख छ । नागरिकता लगायतका प्रमाणपत्रमा जन्म मितिको विवरणमा वर्ष मात्रै उल्लेख भएको अवस्थामा जारी भएको मितिलाई नै जन्म भएको मिति तथा महिना र गते कायम हुने भनेर प्रहरी निमायवली उल्लेख गरिएको छ । जसअनुसार सिंहको जन्म मिति २०२४ जेठ २२ गते हुन्छ ।

तर शैक्षिक प्रमाणपत्र लगायत अन्य कागजातमा तथा सिट रोलमा भने सिंहको जन्म मिति २०२५ पुस १६ गते उल्लेख छ । सोही जन्म मितिको आधारमा उनले २०५० सालमा प्रहरी निरीक्षक भर्नाका लागि आवेदन दिएका थिए ।

प्रहरी नियमावली अनुसार ले फरक–फरक प्रमाणपत्रमा रहेका जन्ममिति विवादबारे स्पष्ट बोलेको छ । कुनै प्रमाण पत्रमा उमेरमात्रै उल्लेख भएको तर अर्को प्रमाणपत्रमा पूरा जन्म मिति भएको अवस्थामा जन्म मितिको अन्तर एक वर्षभित्रको भएमा पूरा जन्म मिति उल्लेख भएको प्रमाणपत्रलाई आधिकारिक मानिने उल्लेख छ ।

तर, जन्म मितिको अन्तर एक वर्षभन्दा बढीको देखिएमा उमेर मात्र उल्लेख भएको प्रमाणपत्र अनुसार उमेर गणना हुने उल्लेख गरिएको छ । जसअनुसार उनको जन्म मिति २०२४ जेठ २२ गते कायम हुन्छ ।

उक्त जन्म मितिलाई आधार मान्दा सिंहले एसएसपीमै अवकाश पाउनुपथ्र्यो । अर्कोतर्फ भने ५५ वर्ष पूरा भएपछि एसएसपी अनिवार्य अवकाशमा जाने प्रावधान नियमावलीमा छ । त्यसपछि अवकाशमा जानुपर्ने उनी अवकाशमा नगइ १ महिनापछि डीआईजीमा बढुवा भएका थिए ।

अवकाशमा गइसकेका व्यक्ति डीआईजी भएको पाइएपछि प्रहरी किताबखानाले अवकाश पत्र थमाउने तथा बर्खास्तसम्म गर्ने सक्ने अवस्था हुन्थ्यो । बर्खास्त भएको अवस्थामा निवृत्तिभरण तथा अन्य सेवा सुविधा समेत नपाउने भएकाले त्यस अगावै सिंहले राजीनामा दिएका हुन् । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका दाबेदार थिए ।

प्रतिक्रिया