राष्ट्रपति निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक, भोट हाल्न नपाउने को-को छन् ?
अखबार टुडे
प्रकाशित:
२०७९, १० फाल्गुन

काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । संघीय संसदका ३३४ सांसदमध्ये चितवन–२ रिक्त रहेको छ । त्यस्तै निलम्बित सांसद टेकबहादुर गुरुङको नाम पनि मतदाता नामावलीमा समावेश छैन । गुरूङ भ्रष्टाचारको अभियोगमा निलम्बित छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश छैन । फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश छ ।

प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्मका लागि तोकिएको सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिए ।

सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया