राष्ट्रपति उम्मेदवार बन्ने चर्चाबारे अध्यक्ष नेपालले भने, ‘मैले त्यसबारे के गर्ने भन्ने सोचेको छैन’
अखबार टुडे
प्रकाशित:
२०७९, ९ फाल्गुन

दाङ, ९ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक पद बाँडफाँटमा आफ्नो पार्टीलाई पनि समेट्नुपर्ने बताएका छन् । मंगलबार दाङको भालुवाङमा अध्यक्ष नेपालले राष्ट्रपतिको उम्मेदवार बन्नेबारे भने आफूले केही नसोचेको बताए ।

पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘चाहना राख्ने बेग्लै कुरा हो । मैले के गर्ने भन्ने सोचेको छैन । पार्टीले पनि सोचेको छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले थपे, ‘तर पावर सेयरिङमा भने हाम्रो पार्टीको पनि भूमिका हुनुपर्छ । अरूले त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन ।’

गत मंसिर ४ गतेको निर्वाचनअघि नै तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रसँग राष्ट्रपतिबारे आफूले कुरा गरेको उनले बताए ।

अध्यक्ष नेपालले भने, ‘राष्ट्रपति पदका बारेमा चुनावअघि कांग्रेससँग र माओवादीसँग कुराकानी भएको थियो । त्यस सन्दर्भमा हामीले केही नामहरू पनि अगाडि सारेका थियौं । यसमा कांग्रेस र माओवादी सहमत भएको थियो ।’

प्रतिक्रिया