मुम्बईमा उपचाररत नेता भण्डारीको स्वास्थ्य अवस्था कस्तो छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, ९ फाल्गुन

काठमाडौं, ९ फागुन । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

भण्डारीलाई अस्पतालले भेन्टिलेटर हटाएर ‘नर्मल मास्क’ बाट अक्सिजन दिएको छ । नेता भण्डारीले पहिलोपटक आज दोहोरो संवाद पनि गरेको मुम्बईमा रहेका माधव न्यौपानेले जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आज पहिलो पटक दोहोरो संवाद गरेको छु । भेन्टिलेटर हटाएर अस्पतालले नर्मल मास्कबाट अक्सिजन दिएको छ ।’ नेता भण्डारीको अन्य स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको अनुहार घटेको बताइएको छ ।

काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनका आमा घाइते भएका थिए । गम्भीर घाइते भएका आमाको कीर्तिपूरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ भने नेता भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत् मुम्बई लगिएको थियो ।

प्रतिक्रिया