थाई एयरवेजको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज
अखबार टुडे
प्रकाशित:
२०७९, ९ फाल्गुन

काठमाडौं, ९ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ । प्रधिकरणले विगत लामो समयदेखि थाइ एयरलाइन्सले गर्दै आएको सेल्फ ग्राउण्ड ह्यान्डलिङको म्याद नथप्ने निर्णय गरेको हो ।

प्रधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले आज विगत लामो समयदेखि थाइ एयरलाइन्सले गर्दै आएको सेल्फ ग्राउण्ड ह्यान्डलिङको म्याद नथप्ने निर्णय गरेको छ । त्यसका सहायक कम्पनी, जिएसए कम्पनीले गर्दै आएको सेवाहरु आजका मितिदेखि बन्द भएका छन् ।’

अब सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने प्रवक्ता निरौलाले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयरवेजले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थियो ।

प्राधिकरणका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने वक्यौता एक करोड रुपैयाँ भन्दा बढी छ । बन्द भएको थाइ एयरवेजलाई चार वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको थियो ।

प्रतिक्रिया