छोराहरू बिते, श्रीमती अर्कैसँग हिँडिन्, आफन्तले पनि हेला गरेपछि एक बर्षदेखि ओढारमा बास
अखबार टुडे
प्रकाशित:
२०७९, ९ फाल्गुन

काठमाडौं, ९ फागुन । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् ।

बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उनले बताए ।

‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ। उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन्। हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ,’ उनले भने ।

राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गर्छन् । सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ । उनी सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन् । शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल कुराकानी गर्न सक्छन् ।

‘उहाँ हाम्रो भैंसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो’, कुरिलाखर्कका सुरेस ढुङ्गानाले भने, ‘उहाँ काम गर्न सक्दिनँ, मलाई यही ठिक छ भन्नुहुन्छ ।’

ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्छन् । दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ। उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ। रातमा चितुवाको डर छ ।

कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन् । ‘ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो। अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन्,’ उनले भनिन् । – राससबाट

प्रतिक्रिया