पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको प्रश्न: २४० वर्ष देश चलाएर के बनाउनुभएको थियो ?
अखबार टुडे
प्रकाशित:
२०७९, ७ फाल्गुन

विराटनगर, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अझै पनि पुरानै झल्को आउने गरेको बताएका छन् ।

विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ । अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ । २–४ जना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ ।’

प्रजातन्त्र दिवसको अवसरमा राजनीतिक दलहरूलाई पूर्वराजा शाहले राखेको सहकार्यको प्रस्तावबारे पत्रकारको प्रश्नमा ओलीले अब मिल्नुपर्ने कुनै कारण नै नरहेको जनाए । उनले भने, ‘कोसँग केसँग सहकार्य ? । उहाँ आफैँ पोलिटिक्स गर्दै हिँडिरहनुभएको छ । अस्ति दियो बाल्नुभयो होला मेचीमा गएर, यति भए भएकै छ त ।’

जनताले शासन हातमा लिएको १५ वर्ष मात्र भएको भन्दै ओलीले मिलाउने कुराहरु मिल्दै गएको ओलीले बताए । उनले भने, ‘१५ वर्ष अगाडिसम्म त २४० वर्षभन्दा बढी उहाँहरूले नै चलाएको होइन ? के बनाउनुभएको थियो ? कहाँ पु¥याउनुभएको थियो देश ? । १५ वर्षमा कतिवटा कुरा मिल्दै होलान्, मिलाउनै पर्ने होला । २५० वर्ष त खाएको छैन नि त जनताले ।’

राजालाई सहभागी गराएर कार्यक्रम गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्नु हुन्न भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘पानीले आफ्नो लेभल आफैं मिलाउँछ, मिलाउँदै जान्छ । त्यसमा धेरै हतार गर्नु पर्दैन ।’

प्रतिक्रिया