जीवनशैली

नेपथ्यको अष्ट्रेलिया टुर तासमानियामा समापन

काठमाडौं, ७ फागुन । अन्टार्टिका महादेशबाट नजिकै पर्ने अष्ट्रेलियाली टापु तासमानियामा अन्तिम प्रस्तुतिसँगै लोकपप ब्याण्ड नेपथ्यको अष्ट्रेलिया यात्राको समापन भएको छ ।

अष्ट्रेलियाका अन्य प्रान्तीय राजधानीभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्वको १ सय ७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो । नेपथ्यलाई दोस्रोपटक हेर्न पाएर रमाएका नेपालीले अधिकांश गीतमा मञ्चका कलाकारलाई साथसाथै गाएर सघाएका थिए ।

शुक्रबार स्थानीय समय अनुसार बेलुकीको साढे सात बजे हलका ढोका खुला गरिएको थियो भने ठीक नौ बजेदेखि कन्सर्ट सुरुभएको थियो । कार्यक्रममा अन्यत्रजस्तै ब्याण्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ बाट सुरुगरियो ।

दोस्रो प्रस्तुतिका रुपमा ‘छेक्यो छेक्यो’ र त्यसपछि पनि क्रमशः ‘भेँडाको ऊन’ र ‘लामपाते सुरती’ हुँदै अघि बढेको कन्सर्ट अवधिभर नेपथ्यले उसका पुराना र नयाँ गीत सुनाएको थियो ।

अढाइलाख जनसंख्या पनि नभएको अष्ट्रेलियाकै यो सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय विस्तारै नेपाली संख्या बढ्न थालेको बताइन्छ ।

केही वर्षअघिसम्म दोश्रो बढी बोलिने भाषा चिनियाँ रहेकामा पछिल्लो समय भुटानी शरणार्थीहरुको समेत आप्रवासन गराइएपछि र नेपालबाटै आएका तन्नेरीहरु पनि बढ्दै गएपछि चिनियाँहरुभन्दा बढी नेपालीभाषी देखिएका हुन् ।

‘यति महत्वको स्थानमा यहाँ बोलिने दोस्रो भाषा नेपाली रहेको थाहा पाएर असाध्यै गौरव महसुस भएको छ,’ गायक एवं ब्याण्डका अगुवा अमृत गुरुङले दर्शकसँग संवाद गर्दै भनेका थिए, ‘भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततिसम्मै जोगाएर विस्तार गरौं है ।’

कन्सर्टका बेला सँधैजस्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यसवर्ष जारी अष्ट्रेलिया यात्राका दौरान तासमानियाको यो कन्सर्ट श्रृंखलामध्येको आठौं प्रस्तुती थियो । यसअघि डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन् ।

दर्शक संख्यामा सदैव गुणात्मक वृद्धि देख्दै आएको सिड्नीमा यसपाला पाँच हजारभन्दा बढी दर्शक जुटाएर नेपथ्यले नयाँ मानक कायम गरेको छ । तासमानियामा अन्तिम प्रस्तुती सम्पन्न भएसँगै ब्याण्ड, प्राविधिक र व्यवस्थापनसहितको १३ सदस्यीय टोली यसै साता मेलबर्न हुँदै स्वदेश फर्कनेछ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top