काठमाडौं, ७ फागुन । नागरिक उन्मुक्ति पार्टिका सांसद अरुण चौधरी आज (आइतबार) बिहान जेलबाट रिहा भएका छन् ।जिल्ला कारागार कैलालीमा रहेका चौधरी प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् ।
कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको थियो ।
जेलबाट रिहा भएपछि सांसद चौधरीले चुनाव जितेपछि रिस मान्नेहरूको योजनाअनुसार आफूलाई पक्राउ गरिएको भए पनि उनीहरूको योजना सफल नभएको बताएका छन् । उनले १८ दिन जेल बस्दा धेरै कुरा सिकेको बताउँदै चौधरीले भने, ‘भित्र कैदीबन्दीहरू कोचाकोच गरेर बस्नुपरेको छ । यसमा सुधार हुनुपर्छ ।’
२०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई गत १९ माघमा प्रहरीले पक्राउ गरेको थियो । नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए ।