विगतमा राष्ट्रपति रबर स्ट्याम्प बनाइँदा राजावादी सलबलाए, अव त्यस्तो बनाउनु हुन्न: चित्रबहादुर केसी
अखबार टुडे
प्रकाशित:
२०७९, ५ फाल्गुन

काठमाडौं, ५ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति पदलाई ‘रबर स्ट्याम्प’ बनाउन नहुने बताएका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष केसीले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रियता, सङ्घीयता र जनजीविकाका सवाल समेटिएको ज्ञापन पत्र बुझाए छन् ।

उनले विगतका राष्ट्रपति रबर स्ट्याम्प हुँदा संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको बताउँदै भने, ‘लोकतन्त्र खतरामा प¥यो । धर्मनिरपेक्षता संकटमा पर्यो । राजावादी सलबलाउन थाले । अब राष्ट्रपति बनाउँदा रबर स्ट्याम्प जस्तो बनाउनुहुँदैन । मुलुक जनता सोच्ने खालको नेतालाई बनाउनुपर्छ ।’

अध्यक्ष केसीसँग प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका थिए । केसीसँग प्रधानमन्त्रीले भने, ‘मैले पनि राष्ट्रपतिमा तपाईँले भने जस्तै गर्न खोजेको हो । सबै दलको सहमतिमा राष्ट्रपति चयन गर्न सकेमा राम्रो हुन्छ कि भन्ने लागेको छ ।’

अध्यक्ष केसीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री प्रचण्डले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएका छन् । जवाफमा प्रहरी महानिरीक्षकले तत्काल विशेष टोली खटाएर घटनाको अनुसन्धान र पीडितहरूले न्याय पाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताएका थिए।

जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्रीले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको अडानले नै मुलुकमा राजनीतिक स्थिरता र संविधानको रक्षा हुने बताएका थिए ।

प्रतिक्रिया