चाँगेलीहरुको एक दिवसीय फुटबल प्रतियोगिता सम्पन्न
अखबार टुडे
प्रकाशित:
२०७९, ५ फाल्गुन

दमक, ५ फागुन । ताप्लेजुङको चाँगे थातथलो भई हाल झापा, मोरङ तथा सुनसरीमा बसोबास गर्दै आएका चाँगेलीहरुको एक दिवसीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

चाँगे ताप्लेजुङ एकता सम्पर्क समाज नेपालको आयोजनामा झापाको केर्खामा हालै आयोजित फुटबल प्रतियोगितामा मोरङ (जुनियर) प्रथम भई ट्रफीसहित ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । प्रतियोगितामा सुनसरी–झापा (सिनियर) ले दोस्रो हुँदै नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।

उता, भेट्रानतर्फ मोरङको टिम प्रथम र झापा–सुनसरीको टिम दोस्रो भए । प्रथम र दोस्रोले नगद २५ हजार र १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रदेश नं. १ का खानेपानी, सिचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

समाजको विकास र उत्थानमा योगदान गरेको मूल्याङ्कन गर्दै पत्रकार जगन्नाथ भट्टराई र दिपेश राजथारू, सामाजिक व्यक्तित्व मदन आङ्बुहाङ, गोपाल गौतम, नरजुङ आङ्बुहाङ, दिलकुमार साम्रा (लिम्बू) लाई सम्मान गरिएको थियो ।

एकता समाजले ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेश सरकारको मन्त्री बन्नुभएका प्रमुख अथिति तिलकुमार मेन्याङ्बोलाई समेत सम्मान गरेको समाजका संस्थापक अध्यक्ष प्रकाश आङ्बुहाङले जानकारी दिए ।

समाजका केन्द्रीय अध्यक्ष विजयराज आङ्बुहाङको सभापतित्वमा भएको उक्त एक दिवसीय फुटबल प्रतियोगितामा झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने चाँगेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । युवादेखि बृद्ध उमेरसम्मका चाँगेलीहरु खेलमा सहभागी भएको खेल विभाग प्रमुख देउमान साम्रा लिम्बूले जानकारी दिए ।

खेल खेलाउनुको औचित्यका बारेमा प्रष्ट पार्दै समाजका संस्थापक अध्यक्ष प्रकाश आङ्बुहाङले भने, ‘चाँगेलीहरुबीच आपसी सद्भाव र भाइचारा सम्बन्ध स्थापित गराउन खेल खेलाइएको हो ।’

प्रतिक्रिया