थप उपचारका लागि सांसद भण्डारीलाई भारत लगियो
अखबार टुडे
प्रकाशित:
२०७९, ४ फाल्गुन

काठमाडौं, ४ फागुन । ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिएको हो । भण्डारीलाई मुम्बईको नेशनल वर्न सेन्टरमा लगेर उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको उपचार टिममा डा. प्रदीप तिवारी, डा.बृहस्पति, डा. रोशन शर्मालगायत सहभागी रहेका छन् । घटनामा गम्भीर घाइते भएकी सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको बिहीबार बिहान निधन भएको हो । खाना खाएर सुतिसकेपछि गएराती साढे १० बजेतिर ग्यासको गन्ध आएर आमा भान्सामा गएको बेला विष्फोट भएको र आमालाई बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएका थिए ।

प्रतिक्रिया