म्याद गुज्रिएका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत
अखबार टुडे
प्रकाशित:
२०७९, ४ फाल्गुन

काठमाडौं, ४ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत गरेको छ ।

विभागले बजारमा अनुगमन क्रममा विभिन्न स्थानमा रहेका स्टोरबाट टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा ब्राण्डका करिब २७ सय कार्टुन बियर नियन्त्रणमा लिएको हो ।

जफत गरेको वियरको बजार मूल्य ८० लाख रुपैयाँ बराबर रहेको बताइएको छ । विभागले काठमाण्डौको धुम्बाराहीमा रहेको याक ब्ररुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका तीन वटा गोदाममा भण्डारण गरिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिइएको जनाएको छ ।

यस्तै सिनामङ्गलमा रहेको संस्कार ट्रेडर्स प्रालिले गौह्रिगाउँमा रहेको गोदाममा भण्डारण गरेको तीन सय ५५ कार्टुन बियर बरामद गरिएको विभागले जनाएको छ ।

विभागले सिनामङ्गलकै सिके ट्रेडिङ प्रालिको गोदाममा भण्डारण गरिएका उपभोग्य मिति सकिएका तीन सय दुई कार्टुन बियर बरामद गरेको छ । विभागले विज्ञप्ति निकालेर म्याद गुज्रिएको बियर बिक्री गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिएको छ ।

विभागले भोजभत्तेर तथा कतिपय रात्रिकालीन रेस्टुरेन्ट व्यवसायमा उपभोग्य अवधि सकिएका गुणस्तरहीन बियर लगायतका जाँड–रक्सीको कारोबार हुनसक्ने भन्दै सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।

यसैगरी विभागले वस्तुको अनैतिक कारोबार भएको थाहा पाएमा टोल फ्री नम्बर ११३७ वा अनलाइन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नसमेत अनुरोध गरेको छ ।

दुई दिन (मंगलबार र बुधबार) बजार अनुगमनका क्रममा उपभोग्य मिति सकिएका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया