ल्होत्से मलमा लुटपाट गर्ने अधिकांश चालक र सहचालक, १५ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, ४ फाल्गुन

काठमाडौं, ४ फागुन । यातायात मजदुरकोको आन्दोलनका क्रममा काठमाडौंको बालाजुस्थित ल्होत्से मलमा लुटपाट तथा तोडफोड गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएकाहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका मध्ये ९ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेका छन् । पक्राउ पर्नेमा केशर राई, सुरज मगर, रितेश बस्नेत, इन्द्र तामाङ, इलाराज गुरुङ, राजन राउत, हरिशरण तामाङ, विकास गुरुङ र संविधान परियार हुन् ।

यस्तै सुनिल कालिकोटे, रोमन नगरकोटी, सुदीप तामाङ, माधव शाही, यमन राई र कविन खड्गी पनि पक्राउ परेका छ्न । उनीहरु मध्ये केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखिसकेको छ । उनीहरुलाई भिडियो र फोटोहरुका आधारमा अनुसन्धान गरेर पक्राउ गरिएको एसएसपी डा. केसीको भनाइ छ ।

गत सोमबार यातायात मजदुरले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेको थियो । आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुइटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए । ट्राफिक आयरल्यान्ड पनि भत्काएका थिए । पछि एक समूहले ल्होत्से मलमा तोडफोड तथा लुटपाट गरेका थिए ।

प्रतिक्रिया