टर्कीमा भुकम्प : नौ दिन बितिसक्दा पनि भग्नावशेषबाट मानिसको जीवितै उद्धार जारी
अखबार टुडे
प्रकाशित:
२०७९, ४ फाल्गुन

काठमाडौं, ४ फागुन (एजेन्सी) । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताले भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् ।

टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुका अनुसार उद्धारकर्ताले बुधबार ३ महिला र २ बालबालिकालाई भग्नावशेषबाट जिवितै उद्धार गरेको छ ।

एला नामकी एक महिला र उनका छोराछोरी मेसाम र अलीलाई भूकम्प गएको २२८ घण्टापछि भग्नावशेषबाट जिवितै निकालिएको थियो । यस्तै सोही स्थानबाट थप दुई महिलाको जिवितै उद्धार गरिएको छ ।

टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीय मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको छ ।

यस्तै टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७४ वर्षीय महिलालाई भग्नावशेषबाट फतमा गुन्गोरर लाई जीवितै निकालेपछि उनको परिवारले अँगालो हालेर हर्षविभोर भएका थिए । मंगलबार पनि सोही ठाउँबाट एक ४६ वर्षीया महिलालाई उद्धार गरिएको थियो ।

विनासकारी भूकम्पमा परी टर्की र सिरियाका कम्तपमा ४१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । लाखौं भूकम्पपीडितलाई मानवीय सहायताको खाँचो छ । उनीहरू चिसोमा घरबारविहीन भएका छन् । घरबारविहीन केही परिवारलाई खेल मैदानमा पाल टाँगेर राखिएको छ ।

प्रतिक्रिया