टर्की भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो
अखबार टुडे
प्रकाशित:
२०७९, ३ फाल्गुन

काठमाडौं, ३ फाल्गुन (एजेन्सी) । सिरिया र टर्कीको सीमामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । टर्कीमा मात्रै ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएको छ भने सिरियामा ५ हजार ८ सयले ज्यान गएको छ ।

टर्कीबाट उत्तरपश्चिम सिरियामा बाब अल–सलाममा मानवीय सहायता बोकेका दशवटा अन्तर्राष्ट्रिय आप्रवासन संगठनका ट्रकहरू पुगेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भग्नावशेषबाट ८ हजारभन्दा बढी मानिसको जिउँदै उद्धार गरेको बताएका छन् । भूकम्पपछि सिरियामा ५.३ मिलियन मानिस घरबारविहीन हुन सक्ने राष्ट्रसंघको अनुमान छ ।

टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल खानाको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ । टर्कीमा ८२ देशका ९ हजार ४६ विदेशी कर्मचारी विपद् क्षेत्रमा कार्यरत रहेको त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परेका ९ जनालाई एक हप्तापछि मंगलबार उद्धार गरिएको छ । टर्कीमा ढलेका भग्नावशेषमा फसेका ९ जनाको हिजो (मंगलबार) जिवितै उद्धार गरिएको हो ।

भूकम्प गएको ठाउँमा सरसफाइको कमीका कारण सङ्क्रामक रोग फैलिने डर रहेको डब्लुएचओले चेतावनी दिएको छ । भूकम्पले निम्त्याएको कठिनाइसँगै जोखिममा रहेका मानिसहरूमा स्वास्थ्य समस्या पनि बढ्ने भन्दै डब्लुएचओले सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया