शब्दयात्रा प्रकाशनद्वारा वरिष्ठ फोटो पत्रकार बज्राचार्यसहित १० जना सम्मानीत
अखबार टुडे
प्रकाशित:
२०७९, १ फाल्गुन

काठमाडौं, १ फागुन । काभ्रेपलान्चोकको बनेपामा राष्ट्रका ख्यातिप्राप्त १० जना व्यक्तित्वलाई सम्मान गरिएको छ । शब्दयात्रा प्रकाशनले उनीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुुरेशराज शर्माले प्रमुख अतिथिको तर्फबाट सम्मान, समाजसेवी सावित्री थापा, आख्यानकार भरत जङ्गम र नियात्राकार पोष चापागाईले किरीट, चयन समितिका संयोजक प्रा. केदारनाथ श्रेष्ठ, सदस्य द्रोणप्रसाद श्रेष्ठ र लीलादेवी श्रेष्ठले उपहार, सभापति शारदाप्रसाद शर्माले पुष्पमाला, पत्रकार प्रदीप केसींले रुद्राक्षमाला, उपस्थित कोष व्यवस्थापकहरू गोपाल पराजुली र हरिगोपाल प्रधान तथा अनुपस्थित कोष व्यवस्थापकका तर्फबाट गीता अधिकारी, कृष्णमणि कुइकेल, पदम ढुङ्गाना र डा. इन्दुल केसीले नगदसहित उनीहरूलाई सम्मान गरेका थिए ।

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको त्यो कार्यक्रम हास्यव्यङ्ग्यकार शारदाप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मानद्वारा शान्ता मानवी, जयदेव अधिकारी अनुसन्धान सम्मानद्वारा प्रा.डा. कुलप्रसाद कोइराला, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मानद्वारा चूडामणि रेग्मी, कल्याण लम्साल सिर्जना सम्मानद्वारा शैलेन्द्र साकार र पद्मकला–भीमप्रसाद समालोचना सम्मानद्वारा डा. रामदयाल राकेश सम्मानित भएका छन् ।

त्यसैगरी विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान विजय चालिसेलाई, वसन्त शर्मा कविता–काव्य सम्मान मनिराज जोशीलाई, कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान शेषराज सिवाकोटीको सम्पादकत्वमा प्रकाशित ‘ज्ञानगुनका कुरा’लाई, षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान उद्धवप्रसाद भट्टराईलाई र वरिष्ठ फोटो पत्रकार÷स्वतन्त्र पत्रकार, गीतकार एवं समाजसेवी (विश्वकीर्तिमानी) हरि गोपाल प्रधानबाट स्थापना गरिएको रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान मीनरत्न बज्राचार्यलाई समर्पण गरिएको थियो ।

कार्यक्रममा चूडामणि रेग्मी उमेरका कारणले उपस्थित हुन नसक्नुभएकाले उहाँको प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएका नगेश निरौलाले उहाँको अभिवन्दनापत्र ग्रहण गरेका थिए ।

सम्मानित व्यक्तित्वहरूका विषयमा पत्रकार शिव बन्जाराले चिनारी गराउनुभएको थियो भने अभिवन्दनापत्रको वाचन कवि पदम दाहालले गर्नुभएको थियो । स्वागत भाषण लेखिका निर्मला श्रेष्ठले गरेका थिए ।

शब्दयात्रा प्रकाशनले हरेक वर्ष २० जनालाई सम्मान, ८ जनालाई पुरस्कार, २ जनालाई छात्रवृत्ति र १ जनालाई विद्वतवृत्ति समर्पण गर्दै आएको छ ।

सोही कार्यक्रममा रोल्पा जिल्लाका प्रथम महाकाव्यकार खेमराज शर्माको महाकाव्य ‘माण्डवी’लाई प्रमुख अतिथि डा. सुरेशराज शर्मा र कृतिकार खेमराज शर्माले संयुक्त रूपमा सार्वजनिक गरिएको थियो ।

महाकाव्य र महाकाव्यकारका विषयमा शिक्षासेवी तथा लेखक चन्द्रबहादुर खड्काले बोलेका थिए । उक्त पुस्तकसहित शब्दयात्रा प्रकाशनले प्रकाशन गरेका पुस्तकको सङ्ख्या १ सय ९८ पुगेको छ ।

उक्त कार्यक्रममा समाजसेवी सरस्वती श्रेष्ठलाई कदरपत्र समर्पण गरिएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशन पुस्तकालयलाई लेखकहरू केशव रूपाखेती, विजय चालिसे, शेषराज सिवाकोटी र खेमराज शर्माले आआफ्ना पुस्तकहरू उपहार प्रदान गरेका थिए । सबै पुस्तकहरू पुस्तकालयका तर्फबाट सङ्गीता केसी र भावना थापाले ग्रहण गरेका थिए ।

कार्यक्रममा नैमिषारण्य संस्कृत गुरुकुलका वटुकहरूले स्वस्तिवाचन गरेका थिए । वटुकहरूलाई आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल र कवि केदारनाथ तिमल्सिनाले टीका र दक्षिणा प्रदान गरे ।

कवि गोविन्दबहादुर खड्काले सम्मान कार्यक्रम सम्बन्धी कविता वाचन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. सुरेशराज शर्मालाई हरिगोपाल प्रधानले शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा लेखक छत्रपति दाहालले कार्यक्रमलाई समापन गर्दै गोपाल प्रधान तथा रत्नदेवी प्रधानको स्मृतिमा नीलकण्ठेश्वरधाम परिसर, काभ्रेपलाञ्चोक बनेपामा बुद्धको मुर्ति स्थापना गरी अनावरण गरिएको थियो ।

प्रतिक्रिया