हमास समूहको गाजास्थित भवनमा इजरायली हवाई आक्रमण
अखबार टुडे
प्रकाशित:
२०७९, १ फाल्गुन

गाजा सिटी, १ फागुन (एजेन्सी) । प्यालेस्टिनी इलाकाबाट सप्ताह अन्तमा प्रहार गरिएको रकेटको जवाफमा सोमबार गाजामा हवाई आक्रमण गरेको इजरायलली सेनाले जनाएको छ । प्यालेस्टाइनी रेड क्रिसेन्टले उत्तरी पश्चिमी किनाराको नाब्लुसमा इजरायली सेनाको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको जनाएको छ ।

सेनाले नाब्लुसको आक्रमणबारे तत्काल थप टिप्पणी गरेको छैन । तर गाजामा उसले ‘हमास आतङ्कवादी सङ्गठनसँग सम्बन्धित रकेट निर्माणमा प्रयोग हुने कच्चा पदार्थ भएको भूमिगत भवनमा आक्रमण गरेको’ बताएको छ । गाजाबाट इजरायलतर्फ शनिबार गरिएको रकेट प्रक्षेपणको प्रतिक्रियास्वरूप उक्त आक्रमण गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायली आक्रमणपछि गाजाको सीमा नजिकका समुदायमा हवाई आक्रमणको साइरन बज्न थालेको सेनाले जनाएको छ ।पछिल्लो चरणको क्षेप्यास्त्र आक्रमणपछि गाजा र इजरायलमा कुनै हताहत भएको खबर प्राप्त भएको छैन । तर इजरायल–प्यालेस्टिनी द्वन्द्वले हिंसामा नाटकीय वृद्धि भोगिरहेको छ ।

सन् २०१९ को सुरुदेखि अहिलेसम्म नाब्लुसमा भएको पछिल्लो घटनापछि भएको द्वन्द्वमा बालबालिकाकासहित ४७ जना प्यालेिस्टनीको ज्यान गइसकेको छ । सोही अवधिमा तीन बालबालिकासहित नौ इजरायली र एक युक्रेनी नागरिकको मृत्यु भएको छ ।

इजरायलको सुरक्षा क्याबिनेटले पूर्वी जेरुसेलममा प्यालेस्टाइनले गरेको घातक आक्रमणको प्रतिक्रियास्वरुप पश्चिम किनाराका नौ यहूदी बस्तीलाई वैधानिकता दिने घोषणा गरेको छ ।

सुरक्षा क्याबिनेटले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नयाँ अधिकार प्राप्त समुदायहरूमध्ये धेरै वर्षौंदेखि अस्तित्वमा थिए र अन्य दशकौंदेखि अस्तित्वमा थिए, तर इजरायल सरकारले पहिले उनीहरूलाई वैधको रूपमा मान्यता दिएको थिएन ।’

इजरायलले सन् १९६७ को छ दिने युद्धदेखि नै पश्चिम किनाराकब्जा गर्दै आएको छ । करिब चार लाख ७५ हजार यहूदीहरू अहिले प्यालेस्टिनी इलाकामा बसोबास गर्छन्, जुन समुदायहरूको बसोबासलाई अन्तर्राष्ट्रिय कानूनले अवैध मान्दै आएको छ ।

त्यसमध्ये अधिकांश जनसङ्ख्या इजरायलले एकतर्फी रूपमा अनुमति दिएका बस्तीहरूमा छन्, तर कतिपय सरकारी अनुमति नपाएका समुदायमा पनि बस्छन् । सुरक्षा क्याबिनेटले वेस्ट बैंकमा नयाँ चरणको आवास निर्माणको घोषणा गर्न चाहेको पनि बताएको छ, जुन कदमले व्यापक अन्तर्राष्ट्रिय निन्दा आकर्षित गर्ने सम्भावना छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत महिना यस क्षेत्रको भ्रमणका क्रममा बस्ती विस्तार नगर्न सुझाब दिनुभएको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कट्टरपन्थी सरकारले इजरायलको कब्जामा रहेको पूर्वी जेरुसेलममा सुरक्षा व्यवस्था कडा बनाउने घोषणा गरेको छ ।

प्रतिक्रिया